गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस

NepalDetail

डडेल्धुरा – गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । गन्यापधुरा गाँउपालिकाको सभाहलमा सम्पन्न भएको गाँउ सभाको बैठक मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
आगामी आर्थिक वर्षको लागी तय गरिएको नीति तथा कार्यक्रममा ‘गाउँफर्क अभियान’लाई विशेष प्राथमिकता दिएको छ। बसाइँसराइका कारण गाउँ रित्तिँदै गएको अवस्थालाई रोक्न स्थायी रूपमा गाउँपालिकामा बसोबास गर्न आउने नागरिकलाई पूर्वाधार निर्माणका लागि ५० हजार रुपैयाँ नगद प्रोत्साहन उपलब्ध गराउने नीति ल्याइएको छ।

आइतबार सार्वजनिक गरिएको वार्षिक नीति तथा कार्यक्रममा बसाइँसराइले खेतीयोग्य जमिन बाँझो हुँदै जानु, विद्यालयमा विद्यार्थी संख्या घट्नु, उत्पादनमा कमी आउनु तथा श्रमिक अभाव जस्ता समस्या बढ्दै गएकाले गाउँ फर्किने वातावरण सिर्जना गर्न यस्तो कार्यक्रम ल्याइएको उल्लेख छ।

गाउँपालिका अध्यक्ष ईन्द्र कार्की ले भू–उपयोग क्षेत्रअनुसार बस्ती विकास, भवन तथा सार्वजनिक पूर्वाधार निर्माणलाई व्यवस्थित र गुणस्तरीय बनाउने नीति समेत लिइएको जानकारी दिए।

नीति तथा कार्यक्रमको अर्को विशेष पक्ष शिक्षामा प्रविधिको प्रयोग हो। गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर थप सुधार गर्न सूचना प्रविधिसँगै कृत्रिम बौद्धिकता (एआई) को प्रयोगलाई प्राथमिकतामा राख्ने भएको छ। पछिल्ला दुई वर्षको एसईई नतिजामा गन्यापधुरा जिल्ला प्रथम बनेको उपलब्धिलाई कायम राख्न सिकाइ आदान–प्रदान, अवलोकन भ्रमण तथा आधुनिक प्रविधिको अधिकतम उपयोगमा जोड दिइने जनाइएको छ।

गाउँपालिकाले हालसम्मका उपलब्धिमध्ये जिल्लामै पहिलो पटक एमबीबीएस चिकित्सकसहित १० शैय्याको पालिका अस्पताल सञ्चालन, तीन वटा वडा कार्यालयका आफ्नै भवन निर्माण, प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुग्नु, ‘एक घर–एक धारा’ अवधारणाअनुसार खानेपानी पहुँच विस्तार, ८० हेक्टरभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा, भातकाँडा–रुवाखोला सडक कालोपत्रे, विभिन्न सडक विस्तार, खेलमैदान निर्माण तथा गन्याप शिखर पदमार्ग निर्माणलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटीले जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो निर्णयका रूपमा विपद् प्रभावित नागरिकका लागि राहत कोष स्थापना गरिएको स्मरण गराईन । जनप्रतिनिधिले पाउने सेवा–सुविधाको १० प्रतिशत रकम जम्मा गरी स्थापना गरिएको उक्त कोषबाट हालसम्म ४५ जनालाई ७ लाख रुपैयाँभन्दा बढी राहत वितरण गरिएको उनले जानकारी दिईन ।

गाउँपालिकाले अधुरा तथा बहुवर्षीय योजनालाई प्राथमिकता दिँदै आगामी वर्ष भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति लिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position