सुख्खा पहिरोका कारण अवरुद्ध भोटखोला सडक सुचारु

काठमाडौं । सुख्खा पहिरो खसेर अवरुद्ध भएको सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला सडक दुई दिनपछि सुचारु भएको छ । कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।
कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोला गाउँपलिकाको हटिया र हुङगुङ बीचमा पहिरो हटाएपछि सडक सुचारु भएको उत्तर दक्षिण कोशी सडक अयोजनाका सूचना अधिकारी नरेश जिरेलले बताए।
सुख्खा पहिरो हटाएपछि हिजो दिउँसो देखि खाँदबारी–किमाथाङ्का सडक खण्ड सुचारु भएको सूचना अधिकारी जिरेलले बताए । उक्त सडक खण्डमा १५ मिटर माथिबाट ठूल्ठूला ढुङ्गा सहितको सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
खाँदबारी देखि एक सय ९ किलोमिटरको दूरीमा सुख्खा पहिरो खसेको थियो । पहिरो हटाएपछि भोटखोलाबाट खाँदबारी आउने जाने यातायातका साधन सञ्चालनमा आएको उहाँको भनाइ छ । खाँदबारी –किमाथाङ्का सडक खण्डमा सुख्खा पहिरोका कारण बेलाबेला सडक खण्ड अवरुद्ध हुने गरेको छ ।
च्याम्ताङसम्म ट्रयाक खुले पनि खाँदबारीबाट बरुण दोभानसम्मको सडकखण्डमा हिउँदको समयमा मात्रै गाडी चल्ने गरेको छ । खाँदबारी–किमाथाङ्का १६२ किलोमिटर मध्ये करिब साढे १० किलोमिटर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो ।
किमाथाङ्का–जोगवनी सडकखण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक हो । सो सडकले कोशी प्रदेश सहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । राष्ट्रिय गौरवको खाँदबारी–किमाथाङ्का सडक आयोजनामा हालसम्म ५३ करोड बढी रुपैयाँ खर्च भइसकेको छ ।